म इन्टर मिलानमै बस्छु : लुकाकु
काठमाडौं,एजेन्सी - बेल्जियन स्टार रोमेलुलुकाकुले आफु इन्टर मिलानमै बस्ने घोषणा गरेका छन् । यसअघि २८ वर्षीय लुकाकुमाथि प्रिमियर लिग क्लब चेल्सी र म्यानचेस्टर सिटीले आँखा लगाएका थिए । लुकाकुले यसै सिजन इन्टरलाई सिरि ए उपाधि जिताउन महत्वपूर्ण भूमिका खेले । इन्टरले १० वर्षपछि पहिलोपटक लिग उपाधि जितेको हो । बेल्जियमको भिटीएम टेलिभिजनबाट प्रशारण हुने डेभिल टाइम नामक कार्यक्रममा बोल्दै लुकाकुले क्लब छाड्ने आफ्नो कुनै मनसाय नरहेको बताए । इन्टरमा नयाँ प्रशिक्षकका रुपमा सिमोनी इन्जागी आउने तय भइसकेको छ । यस्तोमा लाजियाका पूर्व प्रशिक्षक सिमोनीसँग आफ्नो कुराकानी समेत भएको लुकाकुले खुलासा गरे ।
‘हो, म बस्दैछु । जो व्यक्ति हाम्रो नयाँ प्रशिक्षक बन्दैछन्, उनीसँग मैले सम्पर्क समेत गरिसकेको छु । यो कुराकानी निकै सकारात्मक रह्यो । अर्को सिजन लिग जित्नुपर्ने चुनौती पनि छ । म इन्टरमा निकै राम्रो महसुस गरिसकेको छु ।’ उनले भने । इन्टरलाई सिरि ए उपाधि जिताएपछि गत महिना क्लब छाडेका एन्टोनियो कोन्टेका विषयमा पनि लुकाकुले खुलेर तारिफ गरे । ‘मैले खेलाडीका रुपमा हासिल गरेको उचाईका लागि उनलाई धन्यवाद् दिनुपर्छ । उनले कडा मेहनत र बारम्बार ट्याक्टिकल अभ्यास गराउँछन् ।’
२०१९ मा इन्टर मिलान आएयता लुकाकुले निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले ७२ खेलमा ४७ गोल गरेका छन् । लुकाकुले इंलिस क्लबहरु चेल्सी, एभर्टन र म्यानचेस्टर युनाइटेडबाट पनि खेलिसकेका छन् । उनले बेल्जियमको एन्डरलेक्ट क्लबबाट व्यवसाहिक फुटबलको यात्रा सुरु गरेका थिए । अन्तर्राष्ट्रिय फुटबलमा पनि लुकाकुको रेकर्ड शानदार छ । उनले बेल्जियमका लागि ९१ खेलमा ५९ गोल गरेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस