काठमाडौं,एजेन्सी - लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ ।

शनिबार राति भएको खेलमा नर्विच सिटीलाई ३-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले सानदार सुरुवात गरेको हो । लिभरपुललाई जित दिलाउन डिएगो जोटा, रोबर्टो फिर्मिन्हो र मोहमद सलाहले समान एक-एक गोल गरे ।

नर्विचको मैदानमा भएको खेलमा २६ औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । ६५ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै अग्रता दोब्बर बनाए ।  ७४ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई ३-० को जित दिलाए ।

नर्विचविरुद्ध गोल गरेसँगै सलाहले प्रिमियर लिगमा कीर्तिमान बनाएका छन् । सलाहले लगातार पाँच सिजनको पहिलो खेलमा गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् । जितसँगै लिभरपुलले सिजनको पहिलो खेलमा महत्वपूर्ण तीन अंक जोडेको छ ।