काठमाडौं - फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लगातार तेस्रो जित दर्ता गरेको छ । गएराति भएको खेलमा 

पीएसजीले ब्रेस्टलाई ४–२ ले पराजित गरेको हो । 

खेलको २३औँ मिनेटमा घरेलु टोली ब्रेस्टविरुद्ध एन्डर हेरेराले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । ३६औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । ४२औं मिनेटमा ब्रेस्टका फ्रान्क होनोराटले गोल गर्दै खेललाई पहिलो हाफमा २-१ को अवस्थामा ल्याए ।

त्यसपछि ७३औं मिनेटमा इड्रिसा गाना गुआईले गर्दै पीएसजीलाई फराकिलो जिततर्फ धकेले । ८५औं मिनेटमा स्टिभ मोउनीले गोल गर्दै घरेलु टोली ब्रेस्टलाई खेलमा फर्काउने संकेत दिए पनि इन्ज्युरी समयमा एन्जल डि मारियाले गोल गर्दै पीएसजीलाई ४-२को जित दिलाए । यस खेलमा स्टार फरवार्डद्धय नेयमार र लियोनेल मेस्सी मैदानमा उत्रिएका थिएनन् । 

जितसँगै पीएसजी ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ भने पराजित ब्रेस्ट ३ खेलबाट २ अंक जोडेर १२औं स्थानमा छ ।