काठमाडौं - अझै केही दिन साउने झरी जारी रहने भएको छ । हाल मनसुनी न्यूनचापीय रेखा पश्चिम क्षेत्रको नेपाल नजिक दक्षिणतर्फ छ ।

त्यसैले अबको वर्षा नेपालको पश्चिममै बढी हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लगातारभन्दा पनि रोकिँदै पर्दै झरी पर्ने जनाइएको छ । अझै केही दिन देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही विभिन्न स्थानमा वर्षा हुनेछ ।

मनसुनी वायु सक्रिय रहेकाले वर्षाको अवधि बढेको मौसमविद् शान्ति कँडेलले बताइन् । देशभर सामान्यदेखि मध्यम वर्षा भए पनि पश्चिमका केही स्थानमा भने ठूलो वर्षाको सम्भावना औंल्याइएको छ । बुधवार, बिहीवार र शुक्रवारसम्म बदली र वर्षा हुने औंल्याइएको छ । आउँदो २४ घण्टा देशभर विभिन्न स्थानमा हल्कादेखि ठूलो वर्षा हुनेछ ।