काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका १४२ जना, ललितपुरका २५ जना र भक्तपुरका १५ जनामा कोरोना संक्रमण देखिएको हो । बिहीबार मात्र काठमाडौं उपत्यकामा २०० जनामा कोरोना देखिएको थियो । संक्रमितहरु कुन स्थानको भन्नेबारे मन्त्रालयले खुलाएको छैन ।

नेपालमा पछिल्लो २४ घण्टामा ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । २५० जना उपचारपछि डिस्चार्ज भएका छन् ।