काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अहिले आफूले प्रधानमन्त्री नपाए पार्टी प्रतिपक्षमा रहने संकेत गरेका छन् । 

पछिल्लो समय पार्टीका शीर्ष नेताहरूसँगको भेटवार्ता नेपाली कांग्रेसले अहिले प्रधानमन्त्री दिने सम्भावना निकै कम देखिएकाले गठबन्धनबाट बाहिरिने सम्भावना बढेको दाहालले आफु निकट नेतालाई जानकारी गराएका हुन् । 

पहिलो प्रधानमन्त्री नपाउने भए गठबन्धनमा नबस्ने माओवादीको चेतावनी छ ।  विहान दाहाल निवास खुमलटारमा भएको शीर्ष नेताको बैठकले कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नदिए गठबन्धन छाड्ने निष्कर्ष निकालेको छ । 

सोही निष्कर्षसहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल गठबन्धन बैठकमा सहभागी भएका छन् ।  माओवादी केन्द्रले पहिलो चरणमै सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडान सत्ता गठबन्धनमा राखेको छ । 

तर कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पदमा दाबी गरेपछि सहमति जुट्न सकेको छैन ।  यसैबीच माओवादी अध्यक्ष दाहालको सचिवालयले इतिहासको फेरि दुःखान्त पुनरावृत्ति अगाडि रहेको टिप्पणी गरेको छ । 

सत्ता गठबन्धनमा नयाँ सरकार गठनकको विषय पेचिलो बन्दै जाँदा दाहालका स्वकीय सचिव रमेश मल्लले राजनीतिमा खराब चित्र हाबी हुँदै गएको बताएका हुन् ।  मल्लले आफू तल पर्दा एउटा सहमती गर्ने तर आफू माथी पुगे भन्ने भान पर्न थाल्दा सहमती तोडिहाल्ने प्रवृति कांग्रेसेले देखाएको उनको आरोप छ ।