काठमाडौं - प्युठानको साविक बादीकोट गाविस (हालको झिम्रुक गाउँपालिका–१) मा जन्मिएका ठाकुर मध्यमवर्गीय परिवारमा हुर्किए । स्थानीय मच्छी माविबाट एसएलसी परीक्षा उत्तीर्ण गरेका उनी स्नातक तहको अध्ययन सकेर प्रहरीमा भर्ना भएका थिए ।

कीर्तिपुर क्याम्पसमा स्नातकोत्तर अध्ययन गर्दैगर्दा प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा भर्ना खुलेको सुनेपछि उनले आवेदन भरेका थिए । परीक्षा दिए, वैकल्पिकमा नाम निस्कियो । केही समयको पर्खाइपछि २७ असार २०४७ सालबाट उनले विधिवत् रुपमा सुरक्षा फौजमा प्रवेश गर्ने मौका पाए ।

जागिरसँगै पढाइलाई निरन्तरता दिँदै उनले राजनीतिशास्त्रमा स्नातकोत्तर तहको अध्ययन पूरा गरे । पछि ज्ञवालीको परिवार पनि प्युठानबाट बसाइँ बसेर दाङमा झ¥यो ।

द्वन्द्वकालका बेला प्रहरी निरीक्षक हुँदा उनले रुकुममा बसेर दुईपटक काम गरे । सेवा प्रवेशको ११ वर्षपछि प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा भए । डीएसपी हुँदा बुटवल, अपराध महाशाखा लगायतमा रहेर कार्यसम्पादन गरे ।

प्रहरी उपरीक्षक (एसपी) का रुपमा उनले प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखासहित दाङ, बारा र झापा जिल्लाको कुशल नेतृत्व गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेर पनि काम गरेको अनुभव ज्ञवालीसँग छ ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएपछि ज्ञवालीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सहित प्रहरी महानिरीक्षकको सचिवालय र नेपालगञ्ज तालिम केन्द्रमा काम गरे । संयुक्त राष्ट्र संघबाट शान्ति स्थापनार्थ उनी एकपटक एफपीयू (यूएन फम्ड पुलिस युनिट) र दुईपटक अनपोल मिसनमा सहभागी भएका छन् ।

यो अवधिमा उनी कुनै विवादमा परेनन् । त्यसो त कमाण्ड सम्हालेका बेला कुनै घटना वा अनुसन्धान त्यति चर्चामा पनि आएन । जति घटना भए, सफल अनुसन्धान गरिए । त्यसैले उनलाई संगठनमा ‘लो–प्रोफाइल’ अधिकृतका रुपमा चिनिन्छि ।

परिवारका माइला छोरा ठाकुरका कान्छा भाइ श्यामलाल ज्ञवाली पनि अहिले प्रहरीमै छन् । उनी अहिले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) का रुपमा महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीमा कार्यरत छन् ।