काठमाडौं - अमेरिका र इरानबीच विश्वको सबैभन्दा महत्वपूर्ण समुद्री व्यापारिक मार्ग ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालन गर्ने विषयमा सकारात्मक वार्ता अघि बढेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीन सातायताकै न्यून स्तरमा झरेको छ ।
ढुवानी सेवा पुनः सुचारु हुने अपेक्षाले बजारमा आपूर्ति सहज हुने विश्वास बढेसँगै तेलको मूल्यमा उल्लेख्य गिरावट आएको हो ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियो र ट्रेजरी सेक्रेटरी स्कट बेसेन्ट ले जहाजहरूको सुरक्षित आवागमन पुनः सुरु गराउने उद्देश्यका साथ भइरहेको कूटनीतिक प्रयासमा महत्वपूर्ण प्रगति भएको बताएका छन् ।
विदेशमन्त्री रुबियोका अनुसार इरान र ओमानसँगको सहकार्यमा हर्मुज हुँदै थप जहाजहरू आवतजावत गराउने विषयमा छलफल सकारात्मक भए पनि अन्तिम सहमति भने हुन बाँकी छ। उनले निकट भविष्यमा समाधान निस्कने विश्वास व्यक्त गरेका छन्।
वार्ताको सकारात्मक संकेत सार्वजनिक भएसँगै विश्वव्यापी बेञ्चमार्क ब्रेन्ट क्रुडको मूल्य करिब ५ प्रतिशतले घटेर प्रतिब्यारेल ८० अमेरिकी डलरभन्दा तल पुगेको छ।
यस्तै अमेरिकी बेञ्चमार्क डब्लूटीआईको मूल्य पनि घटेर प्रतिब्यारेल ७६ डलरमा झरेको छ। दुवै सूचक जुलाई १३ यताकै सबैभन्दा तल्लो स्तरमा पुगेका हुन्।
यद्यपि, वित्तीय विश्लेषकहरूले विगतमा यस्ता वार्ताहरू पटक–पटक असफल भएको इतिहास स्मरण गराउँदै अहिलेको प्रगतिप्रति लगानीकर्ता अझै पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। त्यसैले तेल बजारमा अस्थिरता अझै कायम रहने सम्भावना रहेको उनीहरूको विश्लेषण छ।
उच्च तेल मूल्यको प्रभाव अहिले पनि विश्वभरका उपभोक्ताले महसुस गरिरहेका छन्। बेलायतमा पेट्रोलको औसत मूल्य प्रतिलिटर १.६० पाउन्ड पुगेको छ भने अमेरिकामा ग्यासोलिनको औसत मूल्य प्रति ग्यालन ४ डलरभन्दा माथि र डिजेल करिब ५.४० डलर प्रति ग्यालन पुगेको छ।
यसअघि इरानले हर्मुज स्ट्रेट बन्द गरेपछि साउदी अरेबियाले लाल सागरस्थित बन्दरगाहमार्फत वैकल्पिक ढुवानी मार्ग प्रयोग गर्न थालेको थियो। तर जुलाई २० देखि यमनका इरान समर्थित हुथी विद्रोहीहरूले उक्त समुद्री मार्गमा समेत नाकाबन्दी गरेपछि वैकल्पिक रुट पनि असुरक्षित बन्दै गएको छ।

.gif)



