काठमाडौं - सिरहाको गोलबजार नगरपालिका–७ मा आइतबार एकै परिवारका तीन बालबालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ। स्थानीय पशु बजार नजिक वर्षाको पानी जमेर बनेको पोखरीमा नुहाउने क्रममा उनीहरू दुर्घटनामा परेका हुन्।
मृत्यु हुनेमा स्थानीय अब्बास खानका ८ वर्षीय छोरा सैफुल शेख, १० वर्षीया रुविना खातुन र १२ वर्षीया सवनम खातुन रहेका छन्। तीनै जना दाजुभाइ–दिदीबहिनी रहेको जनाइएको छ।
स्थानीयका अनुसार वर्षायाममा पशु बजार क्षेत्रमा रहेको खाल्डोमा पानी भरिएपछि अस्थायी पोखरी बनेको थियो। सोही स्थानमा खेल्ने र नुहाउने क्रममा बालबालिकाहरू गहिरो पानीमा डुबेका थिए।
घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली घटनास्थल पुगेर उद्धार तथा खोजी कार्यमा खटिएको थियो। उद्धारपछि तीनै बालबालिकालाई बाहिर निकालिए पनि उनीहरूको ज्यान जोगाउन नसकिएको प्रहरीले जनाएको छ।
घटनापछि स्थानीय बासिन्दा शोकमा डुबेका छन्। वर्षाको समयमा खुला खाल्डाखुल्डी तथा पानी जम्ने स्थानहरू बालबालिकाका लागि जोखिमपूर्ण बन्ने भएकाले यस्ता क्षेत्रको व्यवस्थापन र निगरानीमा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने आवाज स्थानीयले उठाएका छन्।

.gif)


