काठमाडौं - बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ । गएराति भएको फाइनलमा चिर परिचित प्रतिद्धन्द्धी बोरुसिया डर्टमुन्डलाई ३-१ले पराजित गर्दै साविकको विजेतासमेत रहेकाे बायर्न लगातार दोस्रो पटक सुपर कप च्याम्पियन बनेको हो । 

खेलको ४१औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको गोलबाट बायर्नले सुरुवाती अग्रता लिएको थियो । दोस्रो हाफको ४९औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । त्यसपछि ६४औं मिनेटमा कप्तान मार्को रिउसले गोल गर्दै घरेलु टोली डर्टमुन्डलाई खेलमा फर्काउने संकेत गरे । तर, ७४ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३-१को सहज जित दिलाए । 

जर्मन सुपर कपमा बुन्डेस लिगा च्याम्पियन र डिएफबी पोकल विजेताबीच प्रतिस्पर्धा हुने प्रावधान छ । जर्मन सुपर कपमा बायर्न ९ पटक च्याम्पियन बन्न सफल भएको छ भने डर्टमुन्डले ६ पटक उपाधि जितेको छ ।