काठमाडौं - अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूलाई अर्थ मन्त्रालयमा छलफलका लागि बोलाउनुभएकाे छ।
अर्थमन्त्री वाग्लेले बुधबार बिहान ९ बजे राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकहरूलाई मन्त्रालयमा बोलाउनुभएकाे हाे । यहि साउन १२ गते उद्योगीहरूसँग छलफल गरेका अर्थमन्त्री वाग्लेले मंगलबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गर्नुभएकाे थियाे।
उद्योगी र बैंकरहरूले मौद्रिक नीतिसँग सम्बन्धित विषय छलफलमा प्रस्तुत गरेका थिए। अर्थ मन्त्रालयमा भएको उद्योगी र बैंकरहरूसँगको छलफलमा राष्ट्र बैंकको प्रतिनिधि सहभागी थिएनन्।
अर्थमन्त्री वाग्लेले बुधबार राष्ट्र बैंकको कार्यकारी निर्देशकहरूसँग गर्ने छलफलमा राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल र डेपुटी गभर्नर किरण पण्डितलाई भने नबोलाइएको मन्त्रालय स्रोतले जनाएकाे छ ।

.gif)



