प्रधानमन्त्रीको अमेरिका भ्रमणको घोषणा, असोज १० गते राष्ट्रसंघको महासभामा सम्बोधन
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार अमेरिका जाँदैछन् । उनी न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेका हुन् ।
“प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले असोज १० गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुहुनेछ,” परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्री ओली असोज ८ गते राष्ट्रसंघको ७९औँ महासभाको उद्घाटन कार्यक्रममा सहभागी हुनेछन् । असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले महासभामा सहभागी हुन आउने पाहुनाको सम्मानमा आयोजना गर्ने रात्रिभोजमा उनी सहभागी हुनेछन् ।
न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित राष्ट्रहरूको समूह (एलडीसी) को विश्व समन्वय ब्युरोको अध्यक्षको रूपमा एलडीसी सम्मेलनलाई सम्बोधन गर्ने परराष्ट्रले जनाएको छ ।
असोज ७ गते प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा प्रवचन दिनेछन् । प्रधानमन्त्री ओलीको असोज ११ गते हार्वर्ड विश्वविद्यालयमा ‘नेपालको दृष्टिकोणः संक्रमणकालीन न्यायदेखि जलवायु न्यायसम्म’ भन्ने विषयमा सम्बोधन गर्ने कार्यक्रम छ ।
न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा उनकी श्रीमती राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्रसचिव सेवा लम्साललगायत २२ सदस्य हुनेछन्। मन्त्रिपरिषद्ले यसअघि नै भ्रमण स्वीकृत गरिसकेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस