काठमाडौं - सप्तरीको राजबिराज र बोदेबरसाइन नगरपालिका क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार केही समयका लागि खुकुलो पारिएको छ ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सर्वसाधारणलाई दैनिक उपभोग्य सामग्री खरिद–बिक्री गर्न सहज बनाउने उद्देश्यले बिहान ७ः०० बजेदेखि ११ः०० बजेसम्म कर्फ्युमा आंशिक छुट दिइएको हो।
जिल्ला प्रशासन कार्यालय सप्तरीले जारी गरेको सूचनाअनुसार उक्त अवधिमा खाद्यान्न, तरकारी, औषधिलगायत अत्यावश्यक वस्तुको खरिद–बिक्री गर्न अनुमति दिइएको छ।
साथै, सम्बन्धित निकायबाट पूर्वअनुमति लिएर र्याली आयोजना गर्न पनि कर्फ्यु आदेशमा आंशिक सहुलियत प्रदान गरिएको जनाएको छ।
प्रशासनले भने छुट दिइएको अवधिमा पनि शान्ति–सुरक्षा भंग हुने कुनै गतिविधि गर्न नपाइने स्पष्ट पारेको छ।
हुलदंगा, अशान्ति फैलाउने उद्देश्यले वा अन्य कुनै कारणले पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला भई उच्छृंखल गतिविधि गरेको पाइए प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ।
यसैबीच, बिहान ११ः०० बजेपछि यसअघि जारी गरिएको कर्फ्यु आदेश अर्को सूचना जारी नभएसम्म यथावत् लागू रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

.gif)


