काठमाडौं - सभामुख डोलप्रसाद अर्याल र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले भेट गरेका छन् ।

रास्वपा सांसद खगेन्द्र सुनारले सार्वजनिक लेखा समितिको बैठकमा आफूमाथि गरेको व्यवहारबारे ध्यानाकर्षण गराउन आईजीपी कार्कीले सभामुख अर्यालसँग भेट गरेका हुन्।  निर्वाचन प्रहरीको पोसाक खरिदमा ६० करोड हिनामिना भएको भन्दै लेखा समितिमा उजुरी परेको थियो ।

सोही उजुरीमा गत बुधबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा उजुरीमाथि छलफल भएको थियो। बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले प्रहरी प्रधान कार्यालयको निर्देशनमा जिल्लाका कमाण्डर र लेखापालहरूले गर्ने काममा पारदर्शिता नभएको र प्रहरी सेवाबाट अवकाशप्राप्त लेखापालहरू नै ठेकेदार बनेर प्रहरीभित्रै सक्रिय रहेर प्रहरी प्रशासनभित्र अनियमितता मौलाएको आरोप लगाएका थिए ।

यसैगरी सांसद सुनारले आईजीपी कार्कीको घरबाट ३ करोड रुपैयाँभन्दा बढी नगद चोरी भएको र उक्त घटनामा संलग्न भनिएका व्यक्तिहरूलाई प्रहरीको विशेष ब्युरोले नियन्त्रणमा लिएर यातना दिइरहेको आरोप पनि लगाएका थिए।  त्यसपछि सांसद सुनारले  बैठकमा प्रहरी महानिरीक्षकमाथि प्रश्न उठिसकेकोले पदबाट हटाए छानबिन गर्नुपर्ने माग पनि राखेका थिए ।

बैठकमा सांसद लगायत गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेल उपस्थित थिए।  बैठकमा उठेका विषयलाई लिएर प्रहरी नेतृत्व र सांसद सुनारबीच असहमति देखिएको थियो। 

 जवाफ दिने क्रममा आईजीपी कार्कीले उजुरीबारे स्पष्टीकरण दिन बोलाइनु स्वाभाविक भए पनि छलफलका क्रममा आफूहरूको ‘हुर्मत लिने’ किसिमको परिस्थिति सिर्जना भएको भन्दै असन्तुष्टि जनाएका थिए । यही घटनापछि संसदीय मर्यादा, समिति बैठकमा उठेका प्रश्न र प्रहरी नेतृत्वसँग सम्बन्धित विषयमा स्पष्टता ल्याउन सभामुखसँग आईजीपीले भेट गरेको हुन् ।

यसअघि यही विषयमा गृहमन्त्री सुधन गुरुङले पनि उजुरी परेकै आधारमा सार्वजनिक पदाधिकारीलाई दोषी ठहर गर्दै चरित्रमाथि प्रश्न उठाउन नमिल्ने बताएका थिए । साथै गुरुङले गृह प्रशासनअन्तर्गतका कर्मचारी तथा सुरक्षा अधिकारीले सरकारको मर्मअनुसार काम गरिरहेको दाबी गर्दै आफू उनीहरूको कार्यसम्पादनको प्रत्यक्षदर्शी रहेको बताएका थिए।