काठमाडौं,एजेन्सी - दक्षिण भारतीय फिल्मका सुपरस्टार प्रभास र बलिउड अभिनेत्री दीपिका पादुकोणले सँगै कामगर्न लागेकाे चलचित्रमा अब बलिउड अभिनेता अमिताभ बच्चन पनि जाेडिएका छन् । व्याजयन्ती मुभिजको चलचित्रमा उनीहरु एकसाथ देखिन लागेका हुन् ।

प्रभास र दीपिकासँग निर्माण कम्पनीले यसअघि नै सम्झौता गरेको थियो । शुक्रवार व्याजयन्ती मुभिजले यूट्युबमा एक भिडियो सार्वजनिक गर्दै चलचित्रमा अमिताभ बच्चनको प्रवेश भएको जानकारी गराएको हो ।

भिडियोमा अमिताभ बच्चनले काम गरेका केही यादगार चलचित्रको झलक देखाइएको छ । चलचित्रलाई नाग अश्विनले निर्देशन गर्दैछन् । कयैन् सफल चलचित्र निर्माण गरिसकेको साउथ इन्डियन फिल्म प्रोडक्सन हाउस व्याजयन्ती मुभिजका अनुसार, तत्काललाई चलचित्रको नाम ‘प्रभास २१’ राखिएको छ । यो चलचित्रका लागि प्रभासले मात्र ५० करोड पारिश्रमिक बुझेका छन् ।

चलचित्रमा अमिताभ बच्चनको प्रवेश भएपछि निर्देशक नाग अश्विनले भनेका छन्, ‘म आफैंलाई भागयशाली र ब्लेस्ड मान्छु कि बच्चन सरले कयौं विकल्पका बीच हाम्रो फिल्म चयन गर्नुभयो । फिल्ममा उहाँको मुख्य भूमिका रहनेछ ।’ साइन्स फिक्सन यो चलचित्र वर्ल्ड वार ३ को कहानीमा आधारित हुनेछ । चलचित्रलाई सन् २०२२ मा संसारभर एकसाथ प्रदर्शन गर्ने तयारी गरिएको छ ।