इरान–अमेरिका तनाव: कूटनीति सक्रिय, अवस्था अझै अन्योलपूर्ण
काठमाडौं - इरान, अमेरिका र इजरायलबीच जारी युद्धको बीचमा कूटनीतिक पहलहरू तीव्र हुँदै गए पनि समग्र अवस्था अझै अन्योलपूर्ण र तनावग्रस्त बनेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता भइरहेको र सकारात्मक प्रगति भएको दाबी गरेपछि अन्तर्राष्ट्रियस्तरमा आशा जागेको छ । तर, इरानले औपचारिक वार्ता भइरहेको स्वीकार नगरेपछि वास्तविक अवस्था के हो भन्नेबारे स्पष्टता आउन सकेको छैन ।
अमेरिका सरकारले इरानलाई १५ बुँदे प्रस्ताव पठाएको जानकारी सार्वजनिक भएको छ । उक्त प्रस्ताव पाकिस्तानमार्फत इरानसम्म पुर्याइएको बताइएको छ, जसले सम्भावित वार्ताको वातावरण तयार गर्न भूमिका खेलिरहेको छ ।
पाकिस्तानसँगै इजिप्ट र खाडी क्षेत्रका अन्य देशहरू पनि पर्दा पछाडि कूटनीतिक पहलमा संलग्न छन् । मुख्य उद्देश्य युद्धविराम कायम गर्नु र दीर्घकालीन समाधानको बाटो खोल्नु हो ।
यस्तो प्रयासका बाबजुद युद्धको अवस्था झन् जटिल बन्दै गएको छ । इरानले ‘पूर्ण विजय नआउन्जेल लड्ने’ अडान लिएको छ भने इजरायलले पनि आक्रमण जारी राख्ने संकेत दिएको छ । अमेरिकाले समेत मध्यपूर्वमा थप सैनिक पठाउने तयारी गरिरहेको छ, जसले कूटनीतिक पहलसँगै सैन्य दबाब बढाइरहेको देखिन्छ ।
संभावित वार्ताका मुख्य विषयहरू अत्यन्त संवेदनशील छन् । अमेरिकाले इरानको आणविक कार्यक्रम नियन्त्रणमा ल्याउने, क्षेप्यास्त्र क्षमता घटाउने र क्षेत्रीय समूहहरूलाई दिँदै आएको समर्थन रोक्नुपर्ने माग राखेको छ । तर, इरानले यी विषयहरूलाई आफ्नो राष्ट्रिय अधिकारसँग जोड्दै आएकोले सहमति जुटाउन निकै कठिन देखिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस