काठमाडौं - नेपालमा कोरोनाभाइरस (कोभिड—१९) बाट थप एक जनाको मृत्यु भएको छ । 

अछामको बयलवाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक पुरुषको कोरोना रिपोर्ट आज पोजेटिभ आएको हो । यो सँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अछामको बयलपाटा अस्पतालमा उपचाररत रामारोशन गाउँपालिका ५ का ४५ वर्षिय पुरुषको असार १४ गते मृत्यु भएको हो । 

मृतक पुरुषको स्वाव संकलन गरी सेती प्रदेशीक अस्पतालमा भएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । 

उनी असार १३ गते स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । प्रवक्ता गौतमले उनी मधुमेहको बिरामी भएको बताए । मृतक पुरुषसँगै कुरुवा बसेका २ जनाको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ ।