लद्दाखमा सेनाबीच गोली हानाहान: भारत र चीनको यस्तो प्रतिक्रिया
एजेन्सी - भारत-चीन सीमा विवादले हिंसात्मक रुप लिएको छ । भारतीय र चिनियाँ सैनिकबीच लद्दाख क्षेत्रमा झडप हुँदा तीन भारतीय सैनिकको मृत्यु भएको छ।
भारतीय सञ्चार माध्यमहरुको अनुसार पूर्वी लद्दाखको गलवान क्षेत्रमा गए राति दुवै पक्षका सैनिकबीच झडप भएको थियो। सो क्रममा भारतको एक सैनिक अधिकारी र दुई जवानको मृत्यु भएको जनाएका छन्।
यद्यपी, चीनले आफ्ना कति सैनिक मारिए भन्ने विषय खुलाएको छैन । तर, मुडभेडको समाचारलाई भने पुष्टि गरेको छ ।भारतीय सञ्चार माध्यमहरुले सन् १९७५ पछि पहिलो पटक नियन्त्रण रेखामा झडपमा मारिएको जनाएको छ।
सन् १९७५ अक्टुबर पछि पहिलोपटक नियन्त्रण रेखामा भारतीय सेनाको ज्यान गएको हो । त्यसबेला अरुणाञ्चल प्रदेशको तुलुङ लामा असम राइफलको गस्तीमाथि चीनले हमला गर्दा भारतका ४ जना सैनिक मारिएका थिए ।
सीमा क्षेत्रमा बारम्बार तनाव उत्पन्न हुने गरे पनि गोली नचलेको लामो समय भइसकेको थियो । तर एक महिनादेखि लद्दाखमा भारतले गरेको बाटो विस्तारलाई लिएर दुई देशबीच नयाँ तनाव उत्पन्न भएको थियो । दुवै मुलुकले सीमाक्षेत्रमा आफ्नो सैनिकको संख्या बढाएका थिए भने ६ जुनमा वार्ता पनि भएको थियो ।सोमबार राति भने दुवै देशका सेनाबीच गोली हानाहान भएको छ ।
भारतीय पक्ष के भन्छ ?
भारतीय सेनाले विज्ञप्ती जारी गर्दै सीमामा जारी तनाव कम गर्न प्रयास भैरहेको बताएको छ। ‘गलवान उपत्यकामा तनाव कम गर्ने प्रक्रिया भइरहेको समयमा गत राति दुवै पक्षबीच आसने सामने हुँदा हताहती भएको हो’ भारतीय सेनाले विज्ञप्तिमा भनेको छ, ‘भारततर्फ एक अधिकृत र दुई जवानको ज्यान गएको छ। तनावपूर्ण परिस्थितिलाई कम गर्नका लागि दुवै सैनिकका वरिष्ठ अधिकारीहरुबीच बैठक भइरहेको छ।’
यस घटनापछि रक्षामन्त्री राजनाथ सिंहले चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, विदेशमन्त्री एस जयशंकरलगायतसँग बैठक गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि छलफल गर्ने कार्यक्रम छ ।
चिनियाँ पक्ष के भन्छ ?चीनले भारतीय सैनिकहरुले सोमबार दुई पटक सीमा रेखा पार गरेर चीनतर्फ आएका कारण झडप भएको जनाएको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिझानले मंगलबार नियमित पत्रकार भेटका क्रममा भनेका छन्, ‘चीनले यस विषयमा कडा विरोध जनाएको छ र सहमतिअनुसार आफ्ना फ्रन्टलाईनका सेनालाई पछाडि हटाउन माग गरेको छ । सीमा ननाघ्न र सीमाको अवस्थालाई कठिन बनाउने गरी कुनै पनि एकपक्षीय कदम नचाल्ने भनेको छ । चीन र भारतले सीमा क्षेत्रमा तनाव कम गरेर शान्ति कायम गर्नका लागि संवादमार्फत दुईपक्षीय समस्या समाधान गर्ने सहमति गरेका छन्,’ झाओले भने ।
सन् १९६२ भएको थियो युद्ध
भारत र चीनबीच पछिल्लो पटक सन् १९६२ मा युद्ध भएको थियो । आसाममा १ महिना १ दिन युद्ध चलेको थियो । जसमा भारतले लज्जास्पद हार व्यहोरको थियो । युद्धमा चीनका ७ सय २२ र भारतका १३ सय ८३ सैनिक मारिएका थिए ।
फेसबुक पेज Like गर्नुहोस