काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी क्षेत्रमा ठगहरूले प्रवेश गरेपछि सहकारीमा संकट उत्पन्न भएको बताएका छन् ।

एमालेको राष्ट्रिय महिला भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गैर-सहकारीवालाको प्रवेशले संकट उत्पन्न भएको बताएका हुन् । अध्यक्ष ओलीले सहकारीमा ठग्नकै निम्ति केहि व्यक्तिहरू सहकारीमा आएको बताए ।

अध्यक्ष ओलीले भने,’सहकारीमा केही गैरसहकारीवालाहरूले प्रवेश गरे। सहकारीलाई ठगेर खान्छु भन्नेको प्रवेशकै कारण केही ठूला सहकारीको बदनाम भएको छ। ती संकटग्रस्त भएका छन्। साँच्चैका सहकारीहरू संकटमा छैनन्।’

अध्यक्ष ओलीले नियममा बसेका सहकारीहरू समस्यामा नभएको बताए। उनले सहकारी आफैंमा राम्रो कुरा भएको बताउँदै त्यसबाट धेरै महिलाहरूले जीविकोपार्जनलाई सहज बनाएको बताए।

उनले महिलाहरूले राजनीतिबाहेक केही न केही गर्नुपर्ने बताए। अध्यक्ष ओलीले एमालेलाई सबै क्षेत्रमा निर्णायक बनाएर लैजानुपर्ने बताए।

निर्णायक ठाउँमा लगेर नीति निर्माण बनाउने र देशको सार्वभौमसत्तालाई बचाउने अभियानमा लाग्न उनले महिलाहरूलाई निर्देशन दिए।