काठमाडौं - भारतको केन्द्र सरकारले बलिउड अभिनेत्री कंगना रनावतलाई ‘वाई लेवल’को सुरक्षा उपलब्ध गराउने निर्णय गरेको छ। 

कंगनाले अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपछि आफूले मुम्बईमा असुरक्षित महसुस गर्न थालेको बताउँदै आएकी थिइन्। उनले एक ट्विटमार्फत पछिल्लो निर्णयबारे सरकारलाई धन्यवाद दिएकी छन्। 

‘यो अब कुनै पनि देशभक्तको आवाजलाई कुनै पनि प्रकारको फासीवादले कुल्चन सक्ने छैन भन्ने प्रमाण हो। म गृहमन्त्री अमित शाहप्रति आभारी छु। परिस्थितिलाई मध्यनजर गर्दै उनले मलाई केही दिनपछि मात्रै मुम्बई जाऊ पनि भन्न सक्थे। तर‚ उनले एक भारतकी चेलीको वचनको मान राखे। हाम्रो स्वाभिमान र आत्मसम्मानको लाज राखे। जय हिन्द’ उनले भनेकी छन्।

शिवसेनाका सांसद संजय राउत र कंगनाबीच भनाभन चलिरहेका बेला केन्द्र सरकारको यो निर्णय आएको हो। 

के हो वाई श्रेणीको सुरक्षा ? 

भारतमा ठूला नेता वा कुनै ठूला व्यक्तित्वलाई जेड प्लस‚ जेड‚ वाई र एक्स श्रेणीको सुरक्षा दिने चलन छ। यस्तो सुरक्षा पाउनेमा केन्द्रीय मन्त्री‚ मुख्यमन्त्री‚ सुप्रिम कोर्टका न्यायाधीश प्रसिद्ध नेता वा ठूला सरकारी अधिकारी आदि पर्दछन्।

जेड श्रेणीको सुरक्षामा २२ सुरक्षाकर्मी हुन्छन् भने वाई श्रेणीमा ११ जना हुन्छन्। वाई श्रेणीका ११ सुरक्षाकर्मीमध्ये दुई जना पर्सनल सेक्युरिटी अफिसर (पिएसओ) हुन्छन्। त्यस्तै‚ एक्स श्रेणीमा दुई सुरक्षाकर्मी सामेल हुन्छन्‚ जसमध्ये एकजना पिएसओ हुन्छन्।

खतरामा छिन् कंगना ? 

आइतबार कंगनाका पिताले सञ्जय राउतसँग चलिरहेको कंगनाको विवाद उग्र हुँदै गएपछि हिमाञ्चल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरलाई चिठी लेख्दै कंगनाका लागि सुरक्षाको व्यवस्था गर्न आग्रह गरेका थिए। 

गतसाता कंगनाले भनेकी थिइन्‚ ‘सञ्जय राउतले मलाई खुलेआम धम्की दिएका छन् र मुम्बई नआउन भनेका छन्। मुम्बईका गल्लीमा स्वतन्त्रताको नारा‚ अनि अहिले खुलेआम दिएको धम्कीले मुम्बईमा पाकिस्तान नियन्त्रित कश्मीरजस्तो फिलिङ किन दिइराखिएको छ।’ 

कसरी सुरू भयो विवाद?

अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपछि कंगनाले मुम्बई पुलिसको कामप्रति प्रश्न उठाएकी थिइन्। उनले आफूलाई मुम्बई पुलिसप्रति भरोसा नरहेको भन्दै मुम्बईमा असुरक्षित महसुस हुने गरेको बताएकी थिइन्।

त्यसबारे प्रतिक्रिया जनाउँदै सञ्जयले ‘मुम्बई पुलिससँग डर लाग्ने भए मुम्बई नआऊ’ भनेका थिए। त्यसपछि‚ कंगनाले सांसद सञ्जयले आफूलाई मुम्बई नआउन भनेर खुलेआम धम्की दिएको आरोप लगाउन थालिन्। टिभी र ट्विटरमा बहस हुन थाल्यो। यी दुई बीचको भनाभन अझै रोकिएको छैन।