काठमाडौं - निर्वाचन आयोगले भोलि बुधबार हुने राष्ट्रिय सभा निर्वाचनका लागि सबै तयारी पूरा भएको जनाएको छ। मतदानका लागि सातवटै प्रदेशमा रहेका मतदान केन्द्रहरूमा आवश्यक सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको हो।

राष्ट्रिय सभामा फागुन २० गतेदेखि रिक्त हुने १९ पदका लागि भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ। आयोगले मतदानका लागि आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ।

आयोगले माघ ७ गते नै सबै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पठाइसकेको जनाएको छ। सातवटा प्रदेशमा दुई हजार २५ जना मतदाता छन्। भोलिको चुनावमा पाँच सय ३२ जना प्रदेश सभा सदस्य र एक हजार चार सय ९३ जना पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन्। १९ पदका लागि ४३ जनाको उम्मेदवारी परेको छ।

सत्ता गठबन्धनमा रहेका पाँच दलले राष्ट्रिय सभा चुनावमा पनि गठबन्धन गरेर पद बाँडफाँड गरेका छन्। प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने सातै प्रदेशमा आफ्ना उम्मेदवार अघि सारेको छ। मधेश प्रदेशमा उसले राजपासँग गठबन्धन गरेको छ। 

निर्वाचन आयोगका अनुसार कोरोना महामारीको जोखिम उच्च रहेकाले मतदानस्थलमा स्वास्थ्यका मापदण्ड पालनामा कडाइ गरिएको छ। आयोगले यसअघि नै राष्ट्रिय सभा चुनावमा पालना गर्नुपर्ने स्वास्थ्यका मापदण्डको सूची सार्वजनिक गरिसकेको छ।