काठमाडौं - घरमै बसेर काम गर्नका लागि नेपाल टेलिकमले निशुल्क कल ट्रान्सफर सुविधा ल्याएको छ । 

नेपाल टेलिकमका तारवाला टेलिफोनमा आउने फोन कलहरु अर्को मोबाइल नम्बर, सिडिएमए नम्बर वा तारवाला टेलिफोनमा ट्रान्सफर गर्न सकिने भएको छ । 

सबै आगमन कललाई सिधै वा फोन व्यस्त भएमा मात्र वा फोन नउठेको अवस्थामा टेलिकमकै अर्को नम्बरमा ग्राहक आफैंले कल ट्रान्सफर गर्न सकिने प्रवक्ता राजेश जोशीले बताएका छन् । 

यो सुविधाको प्रयोगले कार्यालयमा कोही नभएका समयमा आउने टेलिफोन कलहरु नछुटाई अर्को फोनमा उठाउन सकिन्छ । 

यो सेवा ग्राहकले नजिकैको नेपाल टेलिकमको कार्यालयमा गई निःशुल्क रुपमा सुचारु गराउन सकिन्छ । सेवा प्राप्त भएपश्चात ग्राहक स्वयंले नै चार अंकको लक कोड नम्बर आवश्यकता बमोजिम प्रयोग गरी डाइरेक्ट कल ट्रान्सफर अर्थात् एउटा नम्बरमा आउने कल सिधै अर्को नम्बरमा ट्रान्सफर हुने व्यवस्था मिलाउन सकिन्छ ।

नम्बरमा ट्रान्सफर हुने तथा नो एन्सर ट्रान्सफरमा चार पटकसम्म घण्टी बज्दा पनि फोन नउठेमा सो कल अर्को नम्बरमा ट्रान्सफर हुने सुविधा आवश्यकता बमोजिम उपयोग गर्न सकिन्छ । 

कल ट्रान्सफर वा अन्य प्रयोजनका लागि प्रयोग हुने लक कोड ग्राहक आफैंले परिवर्तन पनि गर्न सकिन्छ । यी सुविधाहरु देशभरका नेपाल टेलिकमका ल्याण्डलाइन नम्बरहरुमा उपलब्ध छन् ।

 सबै सुविधाहरु एक्टीभेसन र डीएक्टीभेसन गर्न आफ्नो एक्सचेञ्ज अनुरुप केही कीवर्डहरु डायल गर्नुपर्ने हुन्छ जसको विवरण नजिकको दूरसञ्चार कार्यालय वा कम्पनीको वेबसाइटबाट प्राप्त गर्न सकिन्छ ।