काठमाडौं - नेपाल ‘ए’ले आज स्कटल्याण्डसँग एक दिवसीय क्रिकेट प्रतियोगिता खेल्दैछ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार मुलपानी क्रिकेट मैदानमा बिहान सवा ९ बजे खेल सुरु हुन लागेको हो ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपाल ‘ए’ले अभ्यास शृङ्खला खेल्दैछ । 

नेपाल ‘ए’ले स्कटल्याण्ड र अमेरिकासँग दुई/दुई अभ्यास खेल खेल्नेछ । क्यानले सार्वजनिक गरेको तालिकाअनुसार शृङ्खलाको दोस्रो खेलमा नेपालले भोलि अमेरिकाविरुद्ध खेल्नेछ ।

त्यसपछि पर्सि फेरि स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ । नेपाल ‘ए’को चौथो तथा अन्तिम खेल आउँदो सोमबार अमेरिकासँग हुनेछ । 

आउँदो वैशाख २८ गतेदेखि जेठ ८ गतेसम्म नेपाल, अमेरिका र स्कटल्याण्डबीच त्रिवि क्रिकेट रङ्गशालामा आईसीसी विश्वकप क्रिकेट लिग(२ प्रतियोगिता हुँदैछ ।