काठमाडौं - सत्तारुढ गठबन्धनसँग चुनावी तालमेल गरेर जाने लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल)को प्रयास असफल हुने देखिएको छ ।

स्थानिय तह निर्वाचन प्रयोजनका लागि पाँच दलीय गठबन्धनको तयारी र अनुगमन संयन्त्रले गठबन्धन आवद्ध दलहरु बिचमा मात्रै साझा उम्मेदवार चयन गर्न सुझाव पेश गरेपछि लोसपाको प्रयास असफल हुने देखिएको हो ।

आफ्ना माग पुरा गराउन तथा स्थानिय तह निर्वाचनमा तालमेल गर्ने बिषयमा लोसपा अध्यक्ष महन्थ ठाकुरले दुई पटक प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।

कांग्रेस सभापति देउवा तालमेलका लागि सकारात्मक रहेको जनाउँदै भारत भ्रमणवाट फर्केपछि पुन: वार्ता गर्ने भनिरहेको बेला अनुगमन संयन्त्रले पाँच दल बिचमा मात्रै गठबन्धन गर्न सिफारिस गरे पछि लोसपाको सो प्रयास असफल हुने देखिएको हो । 

‘स्थानिय तह निर्वाचनका लागि पाँच दलीय गठबन्धनका बिचमा मात्र तालमेल गरी गठबन्धनको भावना र आपसी सम्मान कायम गर्दै सहकार्य गरी अघि बढने’ सुझाव अनुगमन संयन्त्रले दिएकोे छ । सो सुझावका आधारमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका बिचमा मात्रै गठबन्धन हुने देखिएको छ ।

सोमवार बस्ने गठबन्धन शिर्ष नेतृत्वको बैठकले अन्यसँग पनि गठबन्धन गर्ने निर्णय नलिएको खण्डमा लोसपाको प्रयास अन्तत: असफल हुने देखिएको छ ।