चितवन - चितवनमा माछा मार्ने क्रममा करेन्ट लागेर दुई जनको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–८ मा रहेको सल्यानी टोलमा रहेको पोखरीमा माछा चोर्न गएका युवाको करेन्ट लागेर मृत्यु भएको चितवन प्रहरीका प्रवक्ता डिएसपी सूर्य थापाले जानकारी दिए ।

चुडामणी शर्मासहितका पाँच जनाले संचालन गर्दै आएको पोखरीमा माछा चोर्न गएका स्थानीय नवराज दराई र निरबहादुर रानामगरको करेन्ट लागेर मृत्यु भएको हो ।

उनीहरूको साथमा माछा मार्न प्रयोग हुने जाली पनि भेटिएको प्रहरीले जनाएको छ । मृतकलाई हातमा विद्युत् तार समेत जोडिएको अवस्थामा भेटिएको बताइएको छ ।

उनीहरू दुवैको उमेर करिब ३५ वर्ष छ । माछा चोरी हुनेक्रम बढेपछि सञ्चालकले विद्युतीय तार लगाएर रातको समयमा करेन्ट छाड्ने गरेको प्रहरीको दावी छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।