काठमाडौं - इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा म्यानचेस्टर सिटीलाई १-०ले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो । 

चेल्सीको जितमा जर्मन मिडफिल्डर काइ हाभर्ट्जले गरेको गोल नै निर्णायक बन्यो । खेलको ४२ औं मिनेटमा  मासन माउन्टको पासमा हाभर्ट्जले निर्णायक गोल गरेका थिए । यससँगै चेल्सीले दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । यस अघि चेल्सीले पहिलोपटक सन् २०१२ मा उपाधि हात पारेको थियो । 

सिटी भने फाइनल पुगेको पहिलो अवसरमा उपाधिबाट विमुख हुन पुग्यो । दोस्रो हाफमा मिडफिल्डर केभिन डे ब्रुएन चेल्सीका  डिफेन्डर एन्टोनियो रुडीगरसँग ठोक्किँदा चोट लागेपछि मैदान छाड्न बाध्य भएका थिए । त्यसपछि सिटी खेलमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन ।