काठमाडौं - आइसिसी यू–१९ विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको तयारीमा रहेको नेपाली यू–१९ टोलीलाई अफगानिस्तानको युवा टोलीले लगातार दोस्रो खेलमा पराजित गरेको छ।

मुलपानीमा आइतबार भएको दोस्रो खेलमा नेपालमाथि अफगानिस्तानले एक रनको रोमञ्चक जित निकाल्यो। यससँगै तीन खेलको एकदिवसीय युवा सिरिज अफगानिस्तानले अन्तिम खेलअघि नै जितेको छ ।

दोस्रो खेलमा एक रनले पराजित भएसँगै नेपालले सिरिज अफगानिस्तानलाई सुम्पेको हो । पहिलो खेलमा नेपाल १३० रनले पराजित भएको थियो ।

दोस्रो खेलमा अफगानिस्तानले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर ३ बलमा १६७ रनमा समेटियो । नेपाललाई जितका लागि ३ बलमा ३ रन आवश्यक थियो । एक विकेट हातमा थियो । अन्तिम बल नो–बल भए पनि ध्रुव सोनार रनआउट हुँदा एक रनको नमीठो हार व्यहोर्नुपर्‍यो । सोनार ३१ बलमा २१ रन बनाएर आउट भए ।

नेपालका लागि ओपनर साहिल पटेलले ६४, अभिषेक तिवारीले २४, निरजकुमार यादवले १५ रन र कप्तान नरेन भट्टलृ १३ रन बनाए ।

बलिङमा अफगानिस्तानका वाहिदुल्लाह जार्डान, जइतुल्लाह साहीन र हफिज जार्डानले समान २–२ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान १६८ रनमा समेटिएको थियो । अफगानिस्तानका लागि कप्तान मेहबुब खानले सर्वाधिक ५८ रन बनाएका थिए । बलिङमा नेपालका सन्तोष यादवले सर्वाधिक ३ विकेट लिएका थिए ।

अफगानिस्तानका लागि कप्तान मेहबुब खानले ५८ रन बनाए। उनले ११४ बलमा १ चौका प्रहार गर्न सके। रहुल्लाह अरबले २७ रन जोडे भने अरु ब्याटर सस्तैमा आउट भए।

बलिङमा नेपालका सन्तोष यादवले ३ विकेट लिए। उनले १० ओभरमा १ मेडन राख्दा २३ रन मात्र दिए। सिब्रिन श्रेष्ठ र विपिनप्रसाद शर्माले २-२ विकेट लिए। अभिषेक तिवारी र अपराजित पौडेलको नाममा १(१ विकेट रह्यो।

विश्वकप छनोटको तयारीका लागि दिल्लीको यू(१९ टोलीसँग तीन खेलको सिरिज खेलेपछि नेपालले अफगानिस्तानसँग पनि तीन खेलको सिरिज खेलेको हो। दिल्लीविरूद्ध नेपालले तीनै खेलमा जित निकालेको थियो।

नेपालले चैत अन्तिम सातादेखि आइसिसी यू–१९ विश्वकपअन्तर्गत एसिया छनोट आयोजना गर्दैछ। प्रतियोगिता चैत ३० देखि सुरू हुँदैछ।

एसिया छनोटमा आयोजक नेपालसहित पाँच टोलीले भाग लिँदैछन्। नेपाल, अफगानिस्तान, युएई, हङकङ र ओमानले छनोटमा प्रतिस्पर्धा गर्दैछन्।

नेपाल, अफगानिस्तान र युएईले सिधा छनोट खेल्दा हङकङ र ओमानले छनोट पार गरेका हुन्। यो छनोटको विजेता मात्र सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आइसिसी यू–१९ विश्वकपमा छनोट हुनेछ।

नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकप खेलेको थियो। त्यसअघि नेपालले २००० देखि २००८ सम्म लगातार पाँचपटक विश्वकप खेलेको थियो। सन् २०१२ र २०१६ मा पनि खेल्दै नेपालले अहिलेसम्म आठ पटक युवा विश्वकप खेलिसकेको छ।