सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन, नत्र प्रजातान्त्रिक तरिकाले प्रतिस्पर्धा : देउवा
काठमाडौं - प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशनमा सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन हुने बताएका छन्। बिहीबार सहमहामन्त्री महामन्त्री डा. प्रकाशसरण महतले लेखेको पुस्तक विमोचन गर्दै उनले सो कुरा बताएका हुन्।
देउवाले सहमति नभए प्रजातान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धामा जाने पनि बताए। उनले प्रतिस्पर्धामा हुने जितहारलाई स्वाभाविक रुपमा लिएर कुनै पनि प्रकारको कटुता नराख्न आह्वान गरेका छन्। देउवाले भने, ‘हामी भरसक सहमतिको आधारमा अगाडि जान्छौं। केही लागेन भने प्रजातान्त्रिक तरिकाले प्रतिस्पर्धा पनि होला । प्रतिस्पर्धामा जितहार हुन्छ। हार्नेले जित्नेलाई सहयोग गर्ने, जित्नेले हार्नेको सहयोग लिने, यसलाई सामान्य प्रक्रियालाई लिएर कुनै पनि प्रकारको कटुता, मनोमालिन्य, असहिष्णुता नआओस्।’
देउवाले महाधिवेशनमा भाग लिन उत्साहपूर्वक आएका नेता–कार्यकर्ताहरू उस्तै उत्साह बोकेर जिल्ला फर्किने र आगामी चुनावमा नेपाली कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउने कार्यमा लाग्न सभापति देउवाले आह्वान गरेका छन्।
कांग्रेस महाधिवेशन भोलि शुक्रबारबाट काठमाडौँको भृकुटीमण्डपमा हुँदैछ।
फेसबुक पेज Like गर्नुहोस