रञ्जन कोइराला रिहाई प्रकरणः पुनरावलोकन मुद्दाको पेसी आइतबार
काठमाडौं - आफ्नै श्रीमतीको हत्या गर्ने सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालाको सजाय छुट दिने सर्वोच्च अदालतको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले दर्ता गराएको पुनरावलोकन निवेदनमाथि आइतबार सुनुवाइ हुने भएको छ ।
पूर्वडिआइजी कोइरालाको मुद्दामा पुनरावलोकनका लागि निवेदन दिएकोमा आइतबारका लागि पेशी तोकिएको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।
प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले श्रीमती गीता ढकालको हत्या अभियोगमा जन्मकैदको फैसला सुनाइएका पूर्वडिआईजी कोइरालाको कैद सजाय ८ वर्ष ६ महिनामा घटाएको थियो । सोही फैसलाका आधारमा कोइराला बिहीबार नै रिहा भएका छन् ।
श्रीमती ढकाललाई मारेर प्लास्टिकमा पोको पारी मकवानपुरको टिष्टुङ जंगलमा पुर्याई पेट्रोल छर्केर जलाएको अभियोगमा दोषी ठहर भई २०६८ माघ ८ गते पक्राउ परेका रञ्जनको ८ वर्ष ६ महिनाको जेल अवधि बुधबार साँझबाट सकिएको थियो । तर, नेपालको कानुन अनुसार जन्मकैद भन्नाले २० वर्षको सजाय रहन्छ । सर्वोच्चको सो फैसला चित्त बुझ्दो नभएपछि महान्यायाधिवक्ताको कार्यालयले सोही दिन सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गरेको थियो ।
यो मुद्दाको पेशी कुन न्यायाधीशको बेन्चमा चढ्छ भन्ने आइतबार बिहान मात्रै टुंगो लाग्ने छ । सो मुद्दामा यी न्यायाधीशको यसअघि नै आदेश तथा फैसला दिने कार्यमा संलग्नता रहेकाले अब अन्य न्यायाधीशको इजलाशले मुद्दा हेर्नुपर्नेछ ।
फेसबुक पेज Like गर्नुहोस