काठमाडौं, एजेन्सी - जारी कोपा अमेरिका फुटबलमा अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको छ । 

आईतबार बिहान भएको खेलमा इक्वेडरलाई ३-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिनाका लागि रोड्रिगो डी पल, लौटारो मार्टिनेज र कप्तान लियोनेल मेस्सीले समान एक-एक गोल गरे । 

ब्राजिलको एस्टाडियो ओलिम्पिको पेद्रो लुडोभोकोमा भएको खेलमा रोड्रिगोले ४० औं मिनेटमा गोल गरेका थिए । त्यसपछि दोस्रो हाफको ८४ औं मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई २-० को स्थितिमा पुर्याए । र, ९३ औं मिनेटमा मेस्सीले गोल गरे ।  जुन अर्जेन्टिनाका लागि सेमिफाइनलमा पुग्न पर्याप्त भयो । अर्जेन्टिनाले सेमिफाइनलमा कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ । खेल जुलाई ७ मा हुनेछ । 

कोलम्बिया उरुग्वेलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । जसमा कोलम्बियाले ४-२ ले विजयी भयो । 

उरुग्वेका जोसे जिमिनेज र मार्टिया भिना गोल गर्न असफल रहे । इडेन्सन काभानी र लुईस स्वारेजले गोल गरेका थिए । डेविड ओस्पिनाले दुई महत्वपुर्ण पेनाल्टी प्रहार रोक्दै उरुग्वेलाई स्तब्ध बनाएका थिए ।