काठमाडौं - चीनले फ्रान्सलाई एकै पटक करिब ८० लाख थान मास्क उपलब्ध गराएको छ । मास्कको साथै आठवटा गोदाम घरका लागि ३५० वटा काठका पटिया, ११ हजार वटा कागजको कार्टुनका पाकेट र १५० टन स्वास्थ्य उपकरणसहितका सामाग्रिहरु लिएर चीनबाट उडेको विश्वकै सबैभन्दा ठूलो कार्गो विमान आन्तोनोभ ए एन २२५ म्रिया पेरिस नजिकैको पेरिस भिट्री तारमाक विमानस्थलमा अवतरण भएको फ्रान्सेली संचारमाध्यमहरुले जनाएका छन् । युक्रेनको सो कार्गाे विमान स्वास्थ्य सामाग्रि लिनको लागि फ्रान्सले चार्टर गरेर चीन पठाएको बताइएको छ ।

अवतरण भएपछि यसलाई उनीहरुले विशेष पार्किङ क्षेत्रमा राखेका थिए । गत आइतवारनै आन्तोनोभ १२४ नामको अर्को कार्गो विमानपनि चीनबाट एक करोड ४० लाख मास्क लिएर अवतरण गरेको थियो । हिजो सोमबार ७५७ नंबरको कार्गो विमान एक करोड मास्क लिएर ओर्लिएको हो ।

कोरोना भाइरसको माहामारी पछि फ्रान्सले चीनबाट ठूलो संख्यामा स्वास्थ्य सामाग्रिहरु खरिद गरिरहेको छ भने युरोपका अन्य देशहरुले पनि चीनबाटै त्यस्ता सामाग्रि मगाइरहेका छन् । यसले गर्दा चीनले युरोपेली बजारमा झन प्रभाव जमाउंदै लगेको र त्यसले युरोपेली बजार पूर्णरुपमा चीनको वर्चश्व कायम हुने देखिएको भन्दै कतिपय पश्चिमा समर्थक अर्थशास्त्रीले चिन्ता व्यक्त गर्न थालेका छन् ।