काठमाडौं - अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई सरकारले केही गर्न नसक्ने भनिरहेको बेला यहाँको विपक्षी दलले पनि यसबारेमा आवाज उठाएका छैनन् ।

गत शुक्रबार मोरिसनले आर्थिक समस्याको कारण अष्ट्रेलियामा बस्न कठिन भए अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई आफ्नै देश फर्कन सुझाव दिएपछि विद्यार्थीहरुले चिन्ता व्यक्त गरिरहेको बेला विपक्षी दल लेबरले पनि यस विषयमा चासो दिएको छैन ।

पार्टीले क्याजुअल तथा अस्थायी भिसामा रहेका कामदारलाई केही राहत दिनुपर्ने बताएको छ । यसको लागि जबकिपर विधेयकमा केही परिवर्तन हुनुपर्ने बताएको छ । विपक्षी नेता एन्थोनी एल्बनिजेले जबकीपर ऐन बारे आफ्नो प्रस्ताव बुधवार बस्ने सङ्घीय संसद् बैठकले पारित हुनै पर्ने बताउँदै गर्दा बुधबार बिहान एक रेडियोसँगको कुराकानीको क्रममा उनले उक्त कुरा बताएका हुन् ।

उनले अस्थायी भिसामा रहेका कामदारहरूलाई लिएर चिन्ता व्यक्त गरे पनि विद्यार्थीहरुको बारेमा भने केही पनि बोलेनन् । उनले जबकीपर कार्यक्रममा काउन्सिलहरूमा काम गर्ने लगभग दुई लाख कर्मचारीहरूलाई समावेश गर्न सरकारलाई आग्रह गरेका छन्।

तर, सङ्घीय अर्थ मन्त्री मठियास कोर्म्यानले भने आफूहरूले कुनै पनि हालतमा विधेयकमा परिमार्जन नगर्ने सार्वजनिक अडान लिएका छन्।