काठमाडौं - चीन र भारतको सीमा विवाद चर्किदैँ गएको छ । सोमबार राति भारतीय र चिनियाँ सेनाबीच लद्दाखको गलवान उपत्यकामा गोली हानाहान भएको छ । जसमा भारतीय पक्षका कर्नलसहित तीन जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

यसैबीच चिनियाँ समाचार एजेन्सी ग्लोबल टाइम्सका प्रधानसम्पादक हु सिजिनले भारतलाई कडा चेतावनी दिएका छन् ।

सिजिनले मंगलवार ट्विटरमा लेखे, ‘मैले थाहा पाएसम्म गलवान उपत्यकामा भएको शारीरिक भिडन्तमा चिनियाँ पक्षका सैनिक पनि हताहत भएका छन् । म भारतीय पक्षलाई भन्छु, घमण्डी नहोऊ र चीनको संयमलाई कमजोरी ठान्ने दुस्साहस नगर । चीनले भारतसँग भिडन्त चाहेको हैन तर भिडन्त भयो भने हामी डराउँदैनौं ।’

ग्लोबल टाइम्स कम्युनिस्ट पार्टी निकट समाचार एजेन्सी हो ।