कांग्रेसको १४औं महाधिवेशन: शेखर कोइरालाको नेतृत्वमा बन्याे प्यानल
काठमाडौं - नेपाली कांग्रेसको १४औं महाधिवेशनमा संस्थापनइतरबाट शेखर कोइरालाको नेतृत्वमा टीम तयार भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिस्पर्धाबाट बाहिरिने निर्णय गरेसँगै शेखरको नेतृत्वमा प्यानल बनेको हो ।
सभापतिको दाबेदार रहेका शेखरको टीममा चन्द्र भण्डारी र धनराज गुरुङ उपासभापतिमा समेटिएका छन् । महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजालको नाम सहमति भइसकेको छ भने सहमहामन्त्रीमा खसआर्यबाट देवराज चालिसे, महिलाबाट कमला पन्त, दलितबाट जीवन परियार, आदिवासी जनजातिबाट विकास लामा, मधेसीबाट रामकृष्ण यादव, मुस्लिमबाट शेख वकिल, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे र थारुबाट तेजुलाल चौधरी रहने भएका छन् ।
हालसम्म सभापतिमा कल्याण गुरुङले उम्मेदवारी दर्ता गराइसकेका छन् भने कोइरालासहित पार्टी सभापति शेरबहादुर देउवा, प्रकाशमान सिंह र विमलेन्द्र निधि पनि उम्मेदवारी दर्ता गराउने तयारीमा छन् ।
आज बिहान १० बजेदेखि मनोनयन प्रक्रिया सुरु भएको हो । निर्वाचन समितिले मनोनयनका लागि आज साँझ ५ बजेसम्म समय निर्धारण गरेको छ । आइतबार दाबी विरोध सकेर अन्तिम नामावाली प्रकाशन गरिनेछ ।
फेसबुक पेज Like गर्नुहोस