काठमाडौं-सांसद पशुपतिशमशेर जबराले अर्थतन्त्र सुधार गर्न विद्युत् उत्पादन बढाउनुपर्ने सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद जबराले विद्युत् उत्पादन बढाएर मुलुकको अर्थतन्त्र सुधार गर्न सुझाव दिएका हुन् ।

उनले भने ,‘उत्पादन बढाएर विद्युत् निर्यातबाट मुलुकको अर्थतन्त्र सुधार गर्नुपर्छ । स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्न जरुरी छ । हालसम्म भएको सम्झौताअनुसार १० हजार मेगावट विद्युत् भारतलाई बिक्री गर्ने सम्झौता भएको छ । यसबाहेकको विद्युत् कहाँ निर्यात गर्ने भन्नेबारे सदनलाई जानकारी गराउनुपर्छ ।’

मुलुकको राजस्वले सामान्य खर्च पनि धान्न नसक्ने र विदेशबाट युवाले पठाएको ‘रेमिट्यान्स’का भरमा मुलुकको अर्थतन्त्र धानेको उल्लेख गर्दै मुलुकको अर्थतन्त्र सुधार गर्नु पर्ने बताएका थिए ।