काठमाडौं - काठमाडौं उपत्यकामा दैनिक उपभोग्य तरकारीको भाउ खानै नसकिने गरी महँगिएको छ ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बजारमा तरकारीको मूल्य गत वर्षको यसै अवधिको तुलनामा १ सय ४६ प्रतिशतसम्म वृद्धि भएको देखिएको छ ।

लकडाउनको अवधिमा तरकारीको भाउ निकै सस्तो भए पनि पछिल्लो समय उपभोक्ताले तरकारी खरिद गर्दा निकै सोच्नुपर्ने भएको छ । गत वर्ष २६ रुपैयाँ प्रतिकिलोमा विक्री भएको भारतीय आलुको थोक बजार मूल्य यस वर्ष प्रति किलो ६३ रुपैयाँ पुगेको छ । त्यस्तै, मुडेको आलु प्रतिकेजी ५९ पुगेको छ ।

स्थानीय काउलीको थोक मूल्य १२० रुपैयाँ पुगेको छ । काउलीको मूल्य पनि गत वर्षको तुलनामा ५६ प्रतिशतले वृद्धि भएको छ ।  गत वर्षको यही समयमा काउली ७८ रुपैयाँ प्रतिकिलोमा विक्री भएको थियो ।

हरियो खुर्सानीको मूल्यमा ९७ प्रतिशतले वृद्धि भएको छ भने भेडे खुर्सानीको मूल्यमा ८३ प्रतिशतले वृद्धि भएको छ । गोलभेडा (सानो) ३५ रुपैयाँ, टनेलको गोलभेडा ४८ रुपैयाँ, सुकेको प्यान ३० रुपैयाँ, लोकल गाजर ५५ रुपैयाँ, लोकल  बन्दा २५ रुपैयाँ, तिते करेला ४५ रुपैयाँ प्रतिकिलो थोक मूल्यमा विक्री भइरहेको छ ।

थोक बजारमै तरकारीको मूल्य यसरी वृद्धि भएपछि खुद्रा बजार हुँदै उपभोक्तासम्म आइपुग्दा त्यसको मूल्य झण्डै दोब्बर हुने गरेको छ ।

बजारमा तरकारीको मूल्य आकाशिएको भए पनि किसानले भने लागत मूल्य नै उठाउन सकेका छैनन् । यस समयमा बिचौलियाहरु सक्रिय बनेकोले तरकारीको मूल्य बढेको कालीमाटीका एक तरकारी व्यापारीले बताए ।

केही व्यापारीहरुले भने किसानले उत्पादन गरेका तरकारी लकडाउनमा विक्री नभएपछि खेती नै नगर्दा र वर्षा तथा बाढी वर्षाको कारण तरकारीको उत्पादन कम भएकोले मूल्य बढेको बताएका छन् । 

तर, भान्सामा दैनिक रुपमा प्रयोग हुने तरकारीको मूल्य आकाशिदा अनुगमन भने हुन सकेको छैन । लकडाउन, वर्षा र बाढीको बहानामा तरकारीमा बिचौलियाको बिगबिगी भएकाले त्यसमा सरकारले तत्काल हस्तक्षेप गरी नियन्त्रण गर्नुपर्ने उपभोक्ताहरुमो माग छ ।