काठमाडौं - हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र  नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । 

जसको प्रभावले हाल कोशी प्रदेशलगायत बाँकी हिमाली र पहाडी भूभागमा साधरणतया बादल, मधेस प्रदेशमा आंशिक बादल र बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

गण्डकी प्रदेशका थोरै स्थानहरूमा र सुदुरपश्चिम प्रदेशको एक‍–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधरणतया बादल लाग्नेछ । मधेस प्रदेशलगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ ।  

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागको केही स्थानहरूमा, मधेस प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा  तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ।

गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।  सुदूरपश्चिम र लुम्बिनी प्रदेशका  पहाडी भू–भागमा तातो दिन तथा तराई  भू–भागमा तातो लहर हुने सम्भावना रहेको छ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधरणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ ।

कोशी र मधेस प्रदेशका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका तथा कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानहरूमा  चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेशको पहाडी र तराई भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको भनाइ छ ।