काठमाडौं - रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई सामान्य अवस्थामा फर्काउन पूर्वाधार विकास मन्त्रालयले विशेष कार्यदल गठन गरेको छ ।
बाढीबाट क्षतिग्रस्त सडक, पुल, खानेपानी, झोलुङ्गे पुल, स्वास्थ्य तथा सञ्चार संरचनाको पुनःस्थापना र प्रभावित नागरिकको पुनर्वासलाई प्राथमिकतामा राख्दै मन्त्रालयले कार्यदल गठन गरेको हो ।
कार्यदललाई २१ दिनभित्र प्रारम्भिक पुनःस्थापना तथा आवश्यक व्यवस्थापनका काम अघि बढाउने जिम्मेवारी दिइएको छ ।
मन्त्रालयका अनुसार कार्यदलले प्रभावित क्षेत्रको आवश्यकता पहिचान गर्ने, सम्बन्धित निकायबीच समन्वय गर्ने तथा पुनःस्थापनाका काम कार्यान्वयनमा सहजीकरण गर्नेछ। साथै, सरोकारवाला निकाय तथा एजेन्सीलाई परिचालन गरी कामको नियमित अनुगमन र प्रगति प्रतिवेदन तयार गर्ने जिम्मेवारीसमेत कार्यदललाई दिइएको छ।
कार्यदलले बाढीबाट भएको क्षति तथा जोखिमको शीघ्र प्राविधिक र वस्तुगत मूल्यांकन गर्नेछ। त्यसका आधारमा तत्काल सञ्चालन गर्नुपर्ने आपत्कालीन पुनःस्थापना तथा अत्यावश्यक सेवाको पहिचान गरी सम्बन्धित निकाय परिचालन गरिने मन्त्रालयले जनाएको छ।
त्यस्तै, प्रभावित क्षेत्र, संरचना र परिवारलाई जोखिम तथा प्राथमिकताका आधारमा वर्गीकरण गरी तत्कालीन, अल्पकालीन र दीर्घकालीन पुनःस्थापना योजना तयार गरिनेछ। आवश्यक जनशक्ति, उपकरण, निर्माण सामग्री तथा वित्तीय स्रोतको समेत कार्यदलले आकलन गर्नेछ।

.gif)


