काठमाडौं - विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको गृष्मकालीन ओलम्पिक आजबाट जापानको टोकियोमा सुरु हुँदैछ । ओलम्पिक स्टेडियममा हुने उद्घाटन समारोह नेपाली समयअनुसार शुक्रबार दिउँसो ४ः४५ बजेपछि हुनेछ ।

२०२० मै हुनुपर्ने ओलम्पिक कोरोना महामारीले गर्दा एक वर्ष पछि धकेलिएको थियो । अहिले पनि टोकियोमा कोरोना संक्रमणको दर बढिरहेको अवस्थामा आपतकालीन अवस्था लागू गर्दै विनादर्शक ओलम्पिक आयोजना हुँदैछ । ओलम्पिकका लागि खेलाडी तथा अफिसियलहरुलाई अनिवार्य कोभिडको प्रोटोकल लगाइएको छ । खेलाडी तथा अफिसियल अ‍ेल हुने स्थल र ओलम्पिक भिलेजमा मात्रै रहनुपर्नेछ । 

१७ दिन चल्ने ओलम्पिकमा २ सय ७ देशका ११ हजार ३ सय भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । ओलम्पिकमा अमेरिकाबाट सबैभन्दा धेरै ६१३ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । औपचारिक उद्घाटन आज हुन लागेको टोकियो २०२० को सफ्टबल र फुटबल खेलहरु भने सुरु भइसकेको छ ।

नेपालबाट चार खेलमा ५ खेलाडीले टोकियो ओलम्पिकमा सहभागिता जनाउँदैछन् । नेपालबाट पौडीबाट गौरिका सिंह र एलेक्स शाह, जुडोबाट सोनिया भट्ट, सुटिङबाट कल्पना परियार र एथलेटिक्सबाट सरस्वती चौधरीले प्रतिस्पर्धामा छन् ।