काठमाडौं - नेपाली राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

नेपालका लागि डेब्यु खेलाडी सबिता राना र प्रिती राईले समान एक/एक गोल गरिन् । यता, बंगलादेशकी तोहुरा खातुनले एक गोल फर्काईन् ।

खेलमा सविताले १४ मिनेटमा नेपाललाई अग्रता दिलाइन् । सविताले  राइट विंकर बिमला चौधरीको पासमा हेडिङ गोल गरेकी हुन् । २४ मिनेटमा १६ वर्षकी युवा खेलाडी राईले डेब्यु गोल गरिन् । 

८१ मिनेटमा बंगलादेशकी खातुनले गरेको प्रहार नेपाली डिफेण्डर अमृता जैसीलाई छुँदै गोल भएको थियो ।

एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो । दोस्रो मैत्रीपूर्ण आइतबार हुनेछ।