काठमाडौं - संघीय सरकारको भौतिक पूर्वाधार मन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई हत्या गर्ने चेतावनी दिएकी छन्। बलिदानी दिवसको अवसरमा बुधबार रौतहटकाे गौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जसपाकी नेतृसमेत रहेकी यादवले यस्तो हिंसात्मक अभिव्यक्ति दिएकी हुन् । 

‘गौर नरसंहारको इतिहास राइस मिल जिवीत छ। गौरमा फँणा देखाउने प्रयास नगर । यहाँ लाठी भाँच्न मानिसले जानेका छन्। तुफानसँग टकराउने प्रयास नगर।’ हिन्दी भाषामा भाषण गर्दै उनले भनिन्, ‘तुफानसँग टकराउने प्रयास गर्‍यो भने त्यही हालत हुन्छ जुन गौरको राइस मिलमा भएका थियो । त्यो इतिहास डाक्टर साब (सिके राउत) ले नभुलुन् । नत्र तपाईंका कार्यकर्ता मारिन्छन्, तपाईंले पनि घेराबन्दी गरेर मारिदिन्छन् । हत्या हुन्छ, सतर्क रहनुस् ।’ 

सिंहदरबारमा गएर घेराउन गर्नसमेत उनले चेतावनी दिएकी छन् । ‘डाक्टरसाबलाई म चेतावनी दिन्छ, यदि कलेजोमा ताकत छ, गाई भैंसीको दूध खाएको छ भने सिंहदरबारमा गएर घेराउन गर्नुस् । तर, जसको नसमा गाई र भैँसीको दूधको रगत बगेको छ यसलाई फासफुस कहिल्यै पनि हुँदैन, लड्ने प्रयास नगर्दा बेस हुन्छ ।’  उनले भनेकी छन् ।