ठमेलमा जारी रामचन्द्र पक्षको भेलामा ४७ जिल्लाका सभापति सहभागी
काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले डाकेको भेलामा ४७ जिल्लाका सभापतिहरु उपस्थित भएका छन् । काठमाडौँको ठमेलमा जारी भेलामा ३५ जना सभापति भौतिकरूपमा सहभागी छन् भने १२ जना भर्चुअलरूपमा सहभागी रहेको बताइएको छ ।
पार्टीको १४ औं महाधिवेशन अन्योलमा परेका बेला आफ्नो रणनीति बनाउन पौडेल पक्षले भेलाको आयोजना गरेको हो । सो भेला आज दिनभर चल्ने बताइएको छ । हाल जिल्ला सभापतिहरूले आ-आफ्नो धारणा व्यक्त गरिरहेका छन् ।
आजै पौडेल पक्षले आफूनिकट केन्द्रीय पदाधिकारी एवं सदस्यहरूको बैठक पनि बोलाएका छन् । दिउँसो ३ बजे महामन्त्री डा. शशांक कोइरालाको महाराजगन्जस्थित निवासमा बैठक बस्न लागेको हो ।
पार्टीका सभापति शेरबहादुर देउवा महाधिवेशन गर्न अनिच्छुक रहेको र विधानविपरीत क्रियाशील सदस्यता बाँडिएको आरोप लगाउँदै आएको पौडेले पक्षले भोलि बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने धारणाबारे छलफल गर्न लागेको हो ।
नेता पौडेलले आज बिहान पौडेलले महाधिवेशन गर्न असफल भन्दै सभापति शेरबहादुर देउवामाथि कटाक्ष गरेका थिए ।
फेसबुक पेज Like गर्नुहोस