काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

सोमबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।  

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ ।  मृत्यु हुनेमा रुपन्देहीका चार जना रहको डा. गौतमले जानकारी दिएका छन् । उनका अनुसार मृत्यु हुनेमा रुपन्देहीका ६७ वर्षीया महिला र ३८, ५३ र ५४ वर्षीय पुरुष रहेका छन् ।

त्यसैगरी सुनसरीका ६८ वर्षीय पुरुष, मोरङमा ६५ वर्षीय पुरुष, पर्साका ७० वर्षीया महिला र काठमाडौंकी ४८ वर्षीया महिलाको मृत्यु भएको छ । 

आइतबार तीनजनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरिएको थियो ।