सभामुखलाई बधाई दिँदै प्रधानमन्त्रीले भने- एमसीसी पास गर्नुछ
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै बधाई दिएका हुन् । उनले सभामुखलाई सम्पूर्णरुपले सहयोग गर्ने विश्वास दिलाए ।
उनले सदनमा धेरै कामहरु रहेको भन्दै एमसीसी पास गर्नुपर्नेछ भनेर सभामुखलाई स्मरण गराए । सदनको सफलतापूर्वक नेतृत्व गर्न सभामुख सापकोटालाई बधाई दिए ।
‘सभाममुख महोदय, केही दिनपछि मैले आजको राजनीतिक अवस्था, विभिन्न अहिले चर्चामा रहेका समसमायिक सान्दर्भिक विषय र हामीले गर्नुपर्ने काम तत्ससम्बन्धमा नेपाल सरकारको दृष्टिकोण आफ्नो समय लिएर राख्नेछु,’ प्रधानमन्त्री ओलीले भने ।
सभामुख चयनमा ढिला भएको उल्लेख गर्दै ओलीले अबका दिनमा ढिलासुस्ती गर्न नहुने धारणा राखे । उनले हरेक ठाउँबाट आफ्नो काम तीब्र गतिमा अघि बढाउनुपर्ने आग्रहसमेत गरे।
उनले भने, ‘एमसीसीलगायत पास गर्नुपर्ने छ। यसबारेमा पछि भन्छु ।’ प्रधानमन्त्री ओलीले कोरोना भाइरस नियन्त्रणामा केही ढिलाइ भएको उल्लेख गर्दै यसको रोकथामका लागि सरकार लागि परेको बताए ।
सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले विकास र सुशासनमा सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्ने धारणा राखे । उनले मुलुकको विकास तथा समाज रुपान्तरणको अभियानमा एउटै यात्रामा हिड्न जरुरी रहेको बताएका हुन् ।
आधारभूत बिषयमा एकतावद्ध वा स्वस्थ प्रतिपर्धाका आधारमा अघि बढ्नुपर्ने उनको भनाई थियो । ‘हिजो लोकतन्त्रका लागि लड्दा संगसंगै हिडेका थियो, विभिन्न असहमतिका बाबजुत पनि सहमतिमा थियो, त्यसैको उपलब्धि आजको परिस्थिति हो,’ उनले भने ।
उनले नेपालमा लोकतान्त्रिक पद्धति स्थापित भइसकेको बताए । ‘नेपालमा लोकतान्त्रिक पद्धति स्थापित गरिसक्यौं,’ उनले भने, ‘सार्वभौम जनता हरेक बिषयका अन्तिम निर्णयकर्ता हुन् । हामीले प्रणालीमात्र होईन प्रक्रिया समेत लोकतान्त्रिक प्रणाली स्थापित गरेका छौ ।’
प्रधानमन्त्री ओलीले एकतावद्ध भएकै कारण मुलुकमा लोकतान्त्रिक संविधान जारी गर्न सफल भएको तर्क गरे । यसअघि प्रधानमन्त्री ओलीले पूर्वसभामुख महराले एमसीसी पारित गर्न असहयोग गरेर गल्ती गरेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । सभामुख निर्वाचित भएपछि सापकोटाले एमसीसीबारे अध्ययन गरेर काम गर्ने बताएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस