नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय
काठमाडौं - सत्तारुढ गठबन्धनको सरकारमा परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने तयारी भएको छ ।
मंगलबार साँझ गठबन्धनका शीर्ष नेताहरुबीच बालुवाटारमा भएको छलफलमा नेपाली कांग्रेसका नेता खड्कालाई परराष्ट्रमन्त्री बनाउनेमा सहमति जुटेको हाे ।
संयुक्त राष्ट्रसंघको महासभामा नेपाली टोलीको नेतृत्व गर्दै जानुपर्ने भएपछि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले परराष्ट्रमन्त्री नियुक्त गर्न लागेकाे स्रोतले बताएको छ । भोली नै खड्कालाई सपथ खुवाउने बताइएको छ । उदयपुर -१ बाट निर्वाचित भएका ७२ वर्षे खड्का कांग्रेसका केन्द्रीय सदस्य हुन् ।
२९ असारमा प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले त्यही दिन बालकृष्ण खाँणलाई गृह, जनार्दन शर्मालाई अर्थ, ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन र पम्फा भुसाललाई ऊर्जामन्त्री बनाएका थिए । यस्तै, १० साउनमा उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी दिएका प्रधानमन्त्रीले १७ मन्त्रालय आफैंसँग राखेका छन् । संविधानअनुसार सरकारमा २५ जनासम्म मन्त्री राख्न पाइन्छ ।
फेसबुक पेज Like गर्नुहोस