काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापाले ‘जेनजी’ आन्दोलनका क्रममा भदौ २४ गते भएको घटनाको अझैसम्म निष्पक्ष छानबिन हुन नसकेको बताएका छन् ।

शनिबार (जेठ ९) मोरङको विराटनगरस्थित कोइरालानिवासमा आयोजित कार्यक्रममा उनले उक्त घटनाबारे राज्य मौन रहेको र ढाकछोप गर्ने प्रयास भइरहेको आरोप लगाए ।

थापाले भदौ २३ गते भएको अप्रिय घटनामा राज्य संयन्त्रको गम्भीर कमजोरी रहेको स्वीकार गर्दै त्यसबारे अनुसन्धान र कारबाही प्रक्रिया अघि बढिसकेको उल्लेख गरे । तर, भदौ २४ गते कोइरालानिवास, चाक्सीबारी, सिंहदरबारदेखि राष्ट्रपति भवनसम्म भएका तोडफोड, आगजनी र हिंसात्मक गतिविधिबारे भने राज्यले पर्याप्त ध्यान नदिएको उनको भनाइ थियो ।

'भदौ २४ गते नेपालमा जुन वितण्डा भयो, त्यो वितण्डाको हिसाबकिताब हुन अझै बाँकी छ,' उनले भने, 'भदौ २३ गते एउटा अप्रिय घटना भयो, त्यसमा राज्यको ठूलो कमजोरी थियो र त्यसैका आधारमा अनुसन्धान अघि बढेको छ ।'

उनले भदौ २४ गतेको घटनामा पनि ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै त्यसको सत्यतथ्य बाहिर ल्याउन राज्य गम्भीर नभएको आरोप लगाए ।

'त्यस दिन पनि थुप्रै तन्नेरीहरू मारिएका छन्, प्रहरीहरू मारिएका छन्,' उनले भने, “तर यसको बारेमा सबैले मौनता साधेको जस्तो भएको छ ।'