काठमाडौं - विश्व नम्बर एक सर्बियन नोभाक जोकोभिचले विम्बल्डन टेनिसको च्याम्पियन बनेका छन् । आइतबार राति भएको फाइनलमा सातौँ वरियताका इटालीका माटियो बेरेटिलाई ३–१ को सेटमा पराजित गर्दै जोकोभिचले उपाधि जितेका हुन् । 

सुरुवाती सेट गुमाएर पनि जोकोभिचले पूनरागमन गर्न सफल भए । पहिलो सेट बेरेटिनीले ६–७ (४–७)ले आफ्नो पक्षमा पारेका थिए । तर, त्यसपछि जोकोभिचले ६-४,६-४ र ६-३ को सेटमा जित हात पारे । यससँगै जोकोभिचले लगातार दोस्रो पटक उपाधि जितेका छन् ।

३४ वर्षीय जोकोभिचको यो करियरमा २० औं ग्राण्डस्लाम उपाधि हो । जोकोभिचले स्विस स्टार रोजर फेडेरर र स्पेनिस स्टार राफायल नाडालले बनाएको सर्वाधिक ग्राण्डस्लाम जित्ने खेलाडीको कीर्तिमानसँग बराबरीसमेत गरेका छन् ।