काठमाडौं - साउन पन्ध्रकाे अवसरमा शुक्रबार नेपली समाजमा खीर खाएर मनाइँदैछ।

वर्षा ऋतुकाे समयमा असार १५ गते दहीच्यूरा र साउन १५ गते खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा रहेको हाे । दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने मान्यता रहेको छ । चामल, साबुदाना, सेवइ र गाजर लगायतको खीर बनाउने गरिन्छ । साबुदाना–सावधानालाई फलफूलकै वर्गमा राखिन्छ ।

साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रुपमा अर्पण गरिने वैदिकशास्त्रमा वर्णन गरिएको छ ।

परापूर्वककालदेखि नै पुर्खाहरुले मौसम अनुसार श्रम र मानव स्वास्थ्यलाई सन्तुलनमा राख्न यस प्रकारको भोजनलाई चलनचल्तीमा ल्याएका हुन् ।