कोरोना भाइरस अपडेट: थप तीन जनाको मृत्यु, देशभरि २७४ जनामा सङ्क्रमण पुष्टि
काठमाडौं - नेपालका विभिन्न जिल्लामा थप २७४ जनामा कोरोनाभाइरस सङ्क्रमण र थप तीन जनाको मृत्यु भएको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार अपराह्ण दिएको छ।
यससँगै हालसम्म पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १९,५४७ पुगेको छ।
अहिलेसम्म ५२ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ। सङ्क्रमितको सङ्ख्यासँगै निको हुनेको सङ्ख्या पनि बढिरहेको छ। विगत २४ घण्टामा २२७ जना निको भएसँगै अहिलेसम्म १४,२४८ जना रोगमुक्त भएका छन्। मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका कुल ५,२२७ व्यक्ति देशभरि छन्।
मृतकहरू को को हुन्?
बिहीवार पुष्टि भएका तीन जनाको मृत्यु बुधवार भएको हो।
मृत्यु हुनेहरूमा मोरङ्को सुनवर्षी नगरपालिकाका ४५ वर्षीय पुरुष, पर्साको वीरगञ्ज महानगरपालिकाका ७० वर्षीय पुरुष र ६८ वर्षीय पुरुष रहेका छन्।
मोरङका पुरुषको धरानमा भेन्टीलेटरमा उपचाररत रहँदा बुधवार मृत्यु भएको र निज भारत आवतजावत गरिरहने बताइएको छ।
पर्साका ७० वर्षीय पुरुष भने मुटु तथा मधुमेहको बिरामी रहेको र कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि साउन ८ देखि उपचाररत रहेको बताइएको छ। अर्का पुरुषमा भने मिर्गौलाको समस्या रहेको र झाडापखालाको उपचारका अस्पताल भर्ना भएका थिए।
फेसबुक पेज Like गर्नुहोस