काठमाडौं - नेपालका लागि चिनियाँ र भारतीय राजदूतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् । 

बिहिबार फरक फरक समयमा चिनियाँ राजदूत होउ यान्छी र भारतीय राजदूत विनयमोहन क्वात्राले बुढानिलकण्ठ पुगेर देउवालाई भेटेका हुन् । 

नेपालमा संसद पुनस्थापना र फेरिदैँ गरेको राजनितिक परिस्थितिकाबीच दुई छिमेकी मुलुकका दूतहरूले देउवालाई भेट्नु अर्थपूर्ण रुपले हेरिएको छ । 

यसअघि बुधबार नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पनि देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए । भेटमा उनीहरुले देउवालाई नयाँ सरकार गठनमा सहकार्यको प्रस्ताव राखेका थिए । जवाफमा देउवाले पार्टीभित्र छलफल गर्ने बताएका थिए । 

बुढानीलकण्ठमा बिहीबार बसेको कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले राजनीतिक रुपमा विभाजित भएको नेकपा कानुनी रुपमा समेत फुटेपछि मात्रै भावी सरकारबारे निर्णय गर्ने निष्कर्ष निकालेको छ ।